जुत्तामाथि काव्यात्मक विमर्श
कविता
(प्राक्कथन—
केही मित्रले भने
राजनीति र विचारधाराबाहेक
अन्य विषयमा पनि
गफगाफ गर न कहिलेकाहीँ
तसर्थ यतिवेला सोचिरहेकी छु
किन नगरूँ जुत्ताको कुरा ?)
०००
जुत्ता यात्रा गरेर कहिल्यै थाक्दैनन्
धर्ती नाप्दानाप्दै
खिइन्छ उनीहरूको जुनी ।
जुत्ता गर्दैनन् गुनासो कदापि
उबडखाबड बाटोको ।
०००
यात्राका अतिरिक्त
जुत्तालाई
नीच र घटिया मान्छेहरूको
टाउको र पिठ्यूँमा बर्सन
मन पर्छ
तर, जुत्ता हुँदैनन् स्वतन्त्र ।
संसारका सबैभन्दा घटिया मान्छेहरू
सबैभन्दा सुन्दर जुत्ता लाउँछन्
र, आममान्छेलाई कुल्चिँदै
हिँड्छन् ।
लखेटिँदा भने ती जुत्ता छोडेर भाग्छन् ।
जुत्ता व्यग्रतापूर्वक
त्यही दिनको पर्खाइमा हुन्छन् ।
०००
सबैभन्दा अभागी र उदास हुन्छन्
सारा जिन्दगी एउटै बाटो
हिंडिरहनेका जुत्ता,
सदा घरदेखि अफिस
अफिसदेखि घरको दूरी
तय गरिरहने जुत्ता ।
दिवंगत महापुरुषहरूका जुत्ताको
जीवनको सबैभन्दा खराब दिन
तब आउँछ, जब कुनै कुवाको भ्यागुतो
तिनमा घुसेर श्रद्धापूर्वक
निदाउँछ ।
०००
टोल्सटय आफ्नै मर्जीले लगाउँथे
गँवार किसानले लाउनेजस्ता जुत्ता
अनि युवा गोर्कीले दरिद्रताका दिनहरूमा
यताउता भौँतारिँदा
सबैभन्दा बढी जुन चिजको
चिन्ता गर्नुपथ्र्याे
तिनमा उनका सस्ता जुत्ता पनि सामेल थिए ।
अलास्काका बरफले ढाकिएका घाटीहरूमा
सायद अहिले पनि कतै पुरिएका छन्
ज्याक लन्डनले छोडेका स्नो बुट ।
तस्बिरमा उपस्थित प्रेमचन्दका
फाटेका जुत्ता आज पनि साक्षी बस्छन्
एक लेखकको साहस र
इमानदारीका पक्षमा ।
०००
जुत्ताको जीवनबारे सोच्नलाई
यस्तो समाजमा मान्छेसँग
बिचरा, के समय हुन्थ्यो
जहाँ मान्छे आफ्नै जीवनका बारेमा समेत
सोच्न पाउँदैनन् केही र इतिहासबाट
केही पनि सिक्न पाउँदैनन् ।
मलाई लाग्छ, यसप्रकार कवितामा जुत्तालाई ल्याएर
म कुनै ऋण तिरिरहेकी छु
वा एक किसिमले
कृतज्ञता ज्ञापन गरिरहेकी छु
र, साथमा कवितालाई मामुलीपनको
यशस्वी मुकुट पहिराइरहेकी छु ।
०००
जुत्ता युद्धको मैदान कदापि नछोड्ने
योद्धासमान हुन्छन् ।
कतै गल्लीमा, या पार्कमा, या फोहोरको डङ्गुरमा पल्टिएको
एक्लो जुत्तासँग बताउनका लागि
एउटा सिंगै इतिहास हुन्छ
र, हुन्छन् कैयन् रोचक यात्रा–वृत्तान्त ।
कुकुरहरू त्यसमा सुँघ्छन्
सायद विस्मृत जीवनको कुनै गन्ध
र, खेल्छन् त्योसँग ।
फुटपाथको कुनामा बस्ने बूढो चर्मकार
उठाएर लैजान्छ त्यसलाई
र, त्यसका अलग–अलग हिस्सालाई
अरू घाइते जुत्ताहरूको मर्मतमा
खर्च गर्दिन्छ ।
०००
(उपसंहार—
त, महिला तथा सज्जनवृन्द, देखिहाल्नुभो
कुरा जुत्ताकै किन नगर्नुस्
तपाईंको विचार त आइ नै हाल्छ
जीवन, समय र समाजबारे,
सर्त यत्ति कि तपाईंले सोच्ने र महसुस गर्ने क्षमता
परित्यक्त जुत्ताजसरी
कहीँ छोडेर आउनु हुँदैन ।
र, हालत यस्तै रहिरह्यो भने
त्यो दिन टाढा छैन
राजनीतिमाथि तपाईंले
जुत्ता, लौरो, झोला, चस्मा, घडी
वा यस्तै स–साना चिजहरूको बहानामा
कुरा गर्नु पर्नेछ
र, पनि तपाईंको सुरक्षाको
कुनै ग्यारेन्टी नहुन सक्छ ।)
(भारतीय कवि तथा राजनीतिक अभियन्ता कृष्णपल्लवीको यो कविता कवि विनोदविक्रम केसीले अनुवाद गरेका हुन् ।)


No comments:
Post a Comment