विदुषक सिंहासनमा बसेर
थरि थरिका तमासा देखाउँछ
दरबारीयाहरू ताली पिट्दै हाँस्छन्,
डराएका भद्र नागरिक त्यसलाई साथ दिन्छन्,
तिनीहरू बुझ्छन् ,
विदुषक एउटा हत्यारा हो
र दरबारमा रगतको आहाल माथि
ओछ्याइएको छ रातो गलैंचा !
विदुषकको सबैभन्दा प्यारो रुची हो,
सडकमा युग पुरुष बनेर निस्कने स्वाङ्ग रच्नु,
विशाल र भव्य मञ्चबाट राम्रो दिनको घोषणा गर्नु,
जसलाई सुनेर सम्मोहित भीड नारा लाउन थाल्छन्,
सदगृहस्थ असल मान्छे डराउँछन्,
बाठाहरू आफू जोगिने जुक्ति निकाल्न थाल्छन्,
विवेकीहरू चिन्तापूर्वक
आउने दिनको बर्बादीको बारेमा सोच्न थाल्छन्,
शताब्दियौं पहिले जो बर्बर आक्रमणकारी बनेर आएका थिए
ती अतिथि बनेर आइरहेका छन्,
विदुषकले यस्तो जादू चलाएको छ !
विदुषक आफू सामान्यबाट महान बनेको
अगणित संस्मरण सुनाउँछ,
ऊ जूनलाई जादू वाला डोरी फ्याँकेर
पृथ्वीमा तानेर ल्याउने दावी गर्छ !
विदुषक शब्दसँग खेल्छ
र अलङ्कार-वैचित्र्यको बाढी लगाउँछ !
शब्द होस् या परिधान या लुट र दमनको विधान
या सामुहिक नरसंहार रच्नको लागि
विकसित गरिएको संकेत विज्ञान !
विदुषक सबै कुरा सुबिचारित-परिष्कृत तरिकाले गर्छ
र क्रूरताको नयाँ सौन्दर्य शास्त्र रच्छ !
विदुषक, सर्कसको मालिक बनेर बसेको छ,
जनमत उसको पक्षमा छ भन्नको लागि
गणितीय तर्क उसँग छ !
फेरि पनि व्यग्र तथा उद्विग्न छ विदुषक !
किल्ला बन्द नगर जस्तै विशाल
बन्द सर्कसको पाल बाहिर
अहिले पूरै सुनसान छ, चर्को गर्मी छ
र यहाँ त्यहाँ केही धूलो उडेको छ !
विदुषक रहस्यमय सन्नाटालाई बुझ्दैन,
बच्चाहरूको त्यो मुस्कानसम्म पनि पचाउन सक्दैन,
जुन हाँसोमा विवशता हुँदैन, डर हुँदैन
तमाम आश्वासनहरूका बाबजूद
अतीतको प्रेतले विदुषकलाई सताइरहेको छ !
विदुषक डराई रहन्छ ।
('मसखरा-2014 का नेपाली भाषा में अनुवाद I अनुवादक: नेपाल के वाम ऐक्टिविस्ट और कवि बलराम तिमलसिना I)
***************
(भारतकी क्रान्तिकारी कवि ,लेखक तथा योध्दा कविता कृष्णपल्लवीको कविता तथा किस्साहरूको संकलन
"नगर मे बर्बर" भित्रको कविता-" मसखरा-2014" को नेपाली अनुवाद गरेर प्रस्तुत गरेको छु )
मलाई आशा छ - नेपाली पाठकहरूलाई यो कविता नेपाली सन्दर्भमा पनि मिल्दो जुल्दो लाग्ने छ ।
No comments:
Post a Comment