Monday, March 27, 2023


 'रोशनाबाद कविता श्रृंखला' की नयी कविता 'दया करने का बिजनेस' का नेपाली भाषा में अनुवाद किया है कामरेड बलराम तिमल्सिना ने! 

दया गर्ने पेसा !

*******

मजदूर बस्तीबाट 

अलिकति पर 

यो एउटा फरक रोशनावाद छ ।

कचहरीमा 

श्रम अदालत र एसएसपी अफीस नजिकै 

एउटा राम्रो चिया पसल छ ।

कचहरीको मुखिया,

केही वकील 

र कचहरीमा कुनै कामले आएका 

सुकिला मुकिला मानिसहरू पनि 

यहाँ प्राय उठबस गरिरहन्छन् ।

एनजीओ वालाहरू पनि 

जब यता आउने गर्छन 

यही पसलमा डेरा जमाउछन ।

आज सोमबार हो 

चहलपहल अलि बढी नै छ ।

टेबुलमा चिया पुर्याउने 

र गिलास पखाल्ने 

तेह्र चौध वर्षका तीन जना बच्चा छन ।

काउण्टरमा बसेको मालिक 

छिटो छिटो हात चलाउन 

ती बच्चाहरूलाई तारन्तार कराइरहेको छ ।

एक जना अधवैंसे नेपाली कामदार 

लगातार चिया उमालिरहेको छ 

अनि चाउचाउ र अमलेट बनाइरहेको छ ।

एउटा टेबुलमा बसेका केही युवाहरू 

चियाको गिलास लिएर आउनेलाई रोकेर

उसको नाम

उसको उमेर

काम गर्नु पर्ने समय 

र तलव वारे सोध्दै छन 

अनि ठूला ठूला आँखा पारेर 

आपसमा बात मार्दै छन-

"यो त वाल श्रम हो, एकदम गैह्र कानूनी, 

अनि त्यो पनि श्रम कार्यालयको नाकैमुनि ।

 हद भयो, कैलाश सत्यार्थीको संस्थालाई

ध्यानाकर्षण गराउनु पर्छ !"

चायाका  खाली गिलास लिएर

जब त्यो केटा

पछाडि कुनामा चापाकलनिर जान्छ

गिलास पखालिरहेको केटो 

जो अलि बढी अनुभवी जस्तो लाग्छ

ऊसँग भन्छ-

"राजु ,हात छिटो छिटो चला है 

नत्र अहिले साहुले

बेकारमा आमा दिदी बहिनी जोडेर 

गाली गर्न थाल्छ 

तँ अहिले नयाँ छस 

दुई दिनमा देख्ने छस 

त्यस पछि 

कन्नामा लात्तले दिएर निकालिदिन्छ ।

यी हाकिम खाले मान्छेहरूको त

दया माया गर्ने आदत छ !

तिनीहरूका कुरा सुन्यौ भने त 

कुकुर जसरी भोकै मर्ने छस 

सालेहरूले 

वाल श्रम बन्द गरिदिए भने 

हामी त भोकै मर्छौं ।

हाम्रा घरमा रोटी यिनका बाउले पुर्याउँछ लठुवा !

ऊ हेर त ,हामीलाई नै गाली गर्दै छ !

दया गर्ने यिनीहरूको पेसा पनि 

त्यस्तै गजब पेसा हो !

जुन पेसा हाम्रै कारणले चल्ने गर्छ !"

**

#कविता_रोशनाबाद

Kavita Krishnapallavi

अनुवाद: बलराम तिमल्सिना


No comments:

Post a Comment